हराएका सांसद शाहीको जीवन रक्षा गर्न जनमोर्चाको माग

admin

काठमाडौं, १५ बैशाख : राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको छ । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उनको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेखेकी छिन् । सचेतक थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्नुपर्ने र खोजी गर्नुपर्ने उनले माग गरिन् ।

जनमोर्चाले हराएका सांसद नभेटिएसम्म संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । गण्डकीमा बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम रहेकोमा सांसद शाही दिउँसोदेखि सम्पर्कमा आएका छैनन् ।

सांसद हराएपछि राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य शाहीको अवस्था अज्ञात रहेपछि बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको थियो । यसरी मतदानको क्रममा जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेकोमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् । चार दल मिलेर नयाँ सरकार गठनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया