‘बेपत्ता’ सांसद अस्पतालमा : सरकारी रिपोर्ट नेगेटिभ, निजीमा कोरोना पोजेटिभ !

admin

काठमाडौं, १५ वैशाख : सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोभिड अस्पतालमा भेटिएका छन्। उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्।

उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार उनी विहानै अस्पताल भर्ना भएका हुन्।

तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मंगलबारै गरिएको परीक्षणको नेगेटिभ रिपाेर्ट आज बिहान दिएको थियाे।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो। उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।

प्रतिक्रिया