काठमाडौं उपत्यकामा आजदेखि १५ दिन निषेधाज्ञा

admin

काठमाडौं, १६ बैशाख : काठमाडौं उपत्यकाकमा आजदेखि निषेधाज्ञा लागू भएको छ। बिहीबार बिहान ६ बजेदेखि १५ दिनका लागि निषेध आदेश भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन् । सार्वजनिक र निजी यातायात बन्द हुनेछन् । अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ । तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन् । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

सार्वजनिक एवम् निजी सवारी साधन बैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा आधिकारिक सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र किराना पसल र डिपार्टमेन्ट स्टोरलाई बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म व्यवस्था गरिएको छ । ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गराउनुपर्नेछ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्नेछ ।

त्यस्तै निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थालाई संस्थाको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीलाई सो व्यबस्था गरेको हो ।

साथै विवाहमा सहभागी हुन ब्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ । उपत्यका बाहेक ५ सय भन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले आजै देखि लागू हुने गरी निषेधाज्ञा लगाएका छन् ।

अघिल्लो वर्ष सरकारले एक सय २० दिन लामो लकडाउन गरेको थियो । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी २०७७ साल साउन ७ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया