निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही

admin

काठमाडौं, १६ वैशाख : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञाको आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ । संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

कोरोना सङ्क्रमणबाट बच्न बिनाकाम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।

दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

प्रतिक्रिया