सीईडीबी हाइड्रोपावरको आईपीओ भोलिदेखि निष्काशन हुने, कसले कति पाउँछन् ?

admin

काठमाडौं, १६ बैशाख : सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार बैशाख १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३/५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.ब. मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ । कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ बैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ बैशाख १७ गतेदेखि सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा बैशाख २१ गतेसम्म रहने छ ।

प्रतिक्रिया