भैरहवा र विराटनगरबाट काठमाडौंको भाडा जम्मा १५ सय मात्र, आज १०५ वटा आन्तरिक उडान

admin

काठमाडौं, १६ बैशाख : काठमाडौं उपत्यका (आज) बिहीबारदेखि सुरु भएको निषेधाज्ञाका कारण काठमाडौं छाड्नेहरू बढेका छन् । सार्वजनिक यातायातबाट गएको तीन दिनदेखि काठमाडौं छाड्नेहरूको घुइँचो लागेको छ । यात्रुको चापका कारण काठमाडौंबाट विभिन्न गन्तव्यका लागि जहाज कम्पनीहरूले अधिकतम भाडा तोकेका छन् ।

निषेधाज्ञामा पनि आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारको निर्णयअनुसार बिहीबार पनि आन्तरिक उडान निर्वाध चलेका छन् । विमानस्थल र एअरलाइन्सका कर्मचारी तथा जहाज चढ्ने यात्रुले पनि टिकट देखाएपछि विमानस्थल आउजाउ गर्न प्रहरीले रोकेको छैन । त्रिभुवन विमानस्थलका अनुसार बिहीबार काठमाडौंबाट विभिन्न गन्तव्यका लागि एक सय चार वटा उडानको तालिका रहेको छ ।

बिहीबार बुद्ध एअरका ५० वटा, यति एअरलाइन्सका २७ वटा, श्री एअरलाइन्सका १५ वटा, तारा एअरका पाँच तथा समिट र नेपाल एअरलाइन्सका चाररचार वटा उडानको तालिका रहेको छ । काठमाडौंबाट बाहिरिने यात्रुका कारण आन्तरिक उडानले पूर्ण क्षमतामा यात्रु बोकेर काठमाडौं बाहिर उडिरहेका छन् । काठमाडौं बाहिरबाट भित्रिने यात्रुको संख्या भने कमी रहेको छ ।

निषेधाज्ञा लम्बिने शङ्कामा काठमाडौं छाड्नेहरू बढेका हुन् । बिहीबार भएका एक सय पाँच वटा उडानमध्ये सबै उडानमा औसत ९५ प्रतिशत अकुपेन्सी रहेको एअरलाइन्स कम्पनीहरूले जनाएका छन् । काठमाडौं आउँदा कुल क्षमताको ४० देखि ५० प्रतिशत मात्रै यात्रु बोकेर जहाज उडिरहेको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् ।

यस्तै श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पनि काठमाडौं बाहिर जाने जहाजले क्षमताको ९० प्रतिशतभन्दा धेरै नै यात्रु बोकेर गएको तर फर्कँदा भने कम यात्रु बोकेर फर्कनुपरेको बताए । यसैगरी काठमाडौं फर्कने यात्रु घटेसँगै भाडा पनि घटेको छ । विराटनगरबाट बिहीबार काठमाडौं फर्कनका लागि जम्मा एक हजार पाँच सय ५० रुपैयाँ न्युनतम भाडा रहेको छ ।

यस्तै भैरहवाबाट काठमाडौंका लागि पनि एक हजार पाँच सय ९५ रुपैयाँ भाडा रहेको छ । पोखराबाट काठमाडौंको न्यूनतम भाडा एक हजार सात सय रुपैयाँ रहेको छ । जनकपुर-काठमाडौंको भाडा त् झन एक हजार चार सय रुपैयाँमा झरेको छ । यति एअरलाइन्सले बिहीबार एक हजार चार सय ९५ र श्री एअरलाइन्सले एक हजार पाँच रुपैयाँमा यात्रु जनकपुरबाट काठमाडौं ल्याएका थिए ।

प्रतिक्रिया