सांसद शाहीको स्पष्टीकरण : सदनमा जाने तयारी गर्दै थिएँ, अचानक बेहोस भएछु !

admin

काठमाडौं, १६ बैशाख : गण्डकी प्रदेशका प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिएका छन् । बिहीबार विज्ञप्तिमार्फत उनले सदनमा जाने तयारी गर्दै गर्दा अचानक बिरामी भएको र भाइलाई सम्पर्क गरेर अस्पताल लैजाने क्रममा आफू बेहोस भएको बताएका हुन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भइ मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार भएको महसुस गरिरहेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

यस्तै उनले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विषयवस्तुलाई आधार बनाएर धारणा नबनाइदिन पनि आग्रह गरेका छन् । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकोले पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेकोसमेत उनले बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भइरहेको भन्दै उनले स्वस्थ भएपछि थप कुरा प्रष्ट पार्ने बताएका छन् । बुधबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने भए पनि सांसद शाही अनुपस्थित भएपछि बैठक नै स्थगित भएको थियो ।

प्रतिक्रिया