नोबल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने

admin

काठमाडौं, १६ वैशाख : मोरङको विराटनगरस्थित निजी क्षेत्रबाट सञ्चालित नोबेल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ।

पछिल्लो समय मुलुकभर संक्रमणको जोखिम बढेपछि उपचार गर्न नेपाल सरकारसँग सम्झौता भएकाले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय भएको अस्पतालका निर्देशक सुनिल शर्माले जानकारी दिए। निजी क्षेत्रबाट सञ्चालित कुनै पनि अस्पतालले कोरोना संक्रमितको उपचार गर्न लागेको यो पहिलो हो।

यसअघि अस्पतालले क्षेत्र नं. ३ र क्षेत्र नं.६ मा कोरोना संक्रमण भए/नभएको थाहा पाउन ७ सय ५० रूपैयाँमै पिसिआर परीक्षण गर्ने घोषणा गरिसकेको छ। यी निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा पिसिआर परीक्षण गर्ने भएको हो।

दुबै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पथरी-शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमा स्वाब संकलन सहित पिसिआर परीक्षण गरिरहेको छ।

क्षेत्र नं.३ मा पथरी-शनिश्चरे नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं. १, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैचा नगरपालिकाको वडा नं. १, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्छन्।

त्यस्तै, क्षेत्र नं. ६ मा बुढीगंगा गाउँपालिकाका सात वटै वडासहित सुन्दरहरैचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगरपालिकाको वडा नं. ४, ५, ६, ७, ११ र १२ समेटिएको शर्माले बताए।

क्षेत्र नं. ३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने अस्पतालले वैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पिसिआर परीक्षण गर्ने भएको हो। सरकारले अहिले पिसिआर परीक्षणको अधिकतम् शुल्क दुई हजार तोकेको छ। सरकारी प्रयोगशालामा परीक्षण शुल्क १ हजार रुपैयाँ लिने गरेको छ।

प्रतिक्रिया