बिहे भोजमा झगडा, कुटपिट गरेकाे आराेपमा आठ जना पक्राउ

admin

रुकुम पश्चिम, १६ वैशाख :  गएको सोमवार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा भएको बिहे भोजमा झगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक किशोर पनि छन् ।

पक्राउ परेकाको बिहीवार जानकारी दिनु हुँदै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले झडप नियन्त्रण गर्न र उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र जाजरकोटबाट समेत प्रहरी पठाइएको बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९ का विक्रम खाँड ठकुरी, त्यही ठाउँका सुरेश चन्द, जाजरकोटको नलगाड नगरपालिका ७ का नवीन घर्ती, भेरी नगरपालिका ३ का राजन विक, भानु ओली रहेका डीएसपी श्रेष्ठले बताउनुभयो । त्यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ का सुदर्शन बिष्ट, आठबीसकोट नगरपालिका ९ का मनोज परियार र त्यही ठाउँका १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बालबालिकाका लागि छुट्टै कक्ष नभएकाले ती किशोरलाई अभिभावकको साथमा राखेर सोधपुछ गर्ने व्यवस्था मिलाइएको प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकताविरुद्धको कसुरमा अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलाइने डीएसपी श्रेष्ठले बताउनुभयो । पक्राउ परेकाहरू दुवै समूहका रहेका र घटनामा संलग्न केही मुख्य व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

स्थानीय राडी बजारका मनोज बस्नेतको बिहे भोज भइरहेको अवस्थामा दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये आठबीसकोट नगरपालिका ९ का गोविन्द शाहीको अवस्था गम्भीर भएपछि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ भने अर्का घाइते पूर्ण विकको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया