निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले गरिएको होइन : उपप्रधानमन्त्री

admin

काठमाडौं, १७ बैशाख : उपप्रधानमन्त्री तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा नागरिकको स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि भएकाले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे ।

अहिले नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पोखरेलले बताए । उनले कोरोनाविरुद्ध लड्नु सबैको साझा दायित्व भएको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् । कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने उनको भनाइ छ ।

अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलँदो अवस्थाको ‘चेन ब्रेक’ गर्न भएको उनले बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न उनको आग्रह छ ।

प्रतिक्रिया