संक्रमण बढेका यी जिल्लामा धान्नै नसक्ने अवस्था, काठमाडौंमा पाँच ठाउँबाट निःशुल्क एम्बुलेन्स सेवा

admin

काठमाडौं, १७ बैशाख : सरकारले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको संख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको हो ।

संक्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र संक्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ । यस्तै काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच ठाउँबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ ।

महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‍याउन नसक्दा अकालमा ज्यान जान सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच ठाउँबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउने छन् । राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा नम्बर ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुईरदुई वटा एम्बुलेन्स चौबीसै घण्टा तैनाथ गरिएको छ ।

यी एम्बुलेन्सहरु कोभिडको संक्रमण नभएका बिरामीका लागि हुन् । कोभिड संक्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । यस सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स एक लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ ।

यसबापत सङ्घले १५ दिनका लागि चौबीसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउने छैनन् । यो सुविधा महानगरबाट दुई किलोमिटरभन्दा टाढासम्मका लागि हो तर डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दुरीभन्दा बाहिर पनि जानुपर्नेछ ।

यस सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ । एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।

चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१-०५४७६८ र उद्धव भण्डारी, ९८४१-१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२-७९८१९ र डम्बर गुभाजू, ९८८१-३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३-२४६०८६ र कृष्ण गुरुङ, ९८०८२-९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०-९१६२६२ र सविन थापा, ९८४०-२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवर्द्धन सापकोटा, ९८५१०-८२४२५ र तुल सिंह तामाङ, ९८१८-४३९५९५

प्रतिक्रिया