फिल्म निर्माता गोविन्दलाई अदालतले दियो सफाइ

admin

काठमाडौं, १७ बैशाख : जिल्ला अदालत काठमाडौंले फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई सफाइ दिएको छ। लिलिबिली फिल्ममा लगानीका विषयमा भएको विवादका कारण परेको ठगी मुद्दामा गोविन्दले अदालतबाट सफाइ पाएका हुन्। जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा फैसला गर्दै गोविन्दलाई निर्दोष ठहर गरेको हो।

लिलिबिली फिल्मको शेयर रकम ८७ लाख ७४ हजार सात सय ६५ रुपैयाँ नदिएको र नदेखाएको भन्दै २०७६ कार्तिकमा फिल्मका निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

ठगीको उजुरी परेपछि शाहीलाई प्रहरीले पटकपटक पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले पनि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। पटकपटक पक्राउ पर्दै दुःख पाएका शाहीले सरकारी पदासिन व्यक्तिको अधिकार दुरुपयोग गरी अरुलाई दुख दिने काम भएको आरोप लगाएका थिए।

उनले फिल्ममा आफूले गरेको लगानीलाई नजरअन्दाज गरेको र चाम्स र खड्काले दुःख दिने र बदनाम गर्ने नियतले आफूमाथि मुद्दा हालेको बताउने गरेका थिए।
जिल्ला अदालत काठमाडौंले सबै प्रमाणको अध्ययनपछि शाही निर्दोष रहेको फैसला गरेको हो।

प्रतिक्रिया