दुई अस्पतालमा उत्पादन सुरु भएसँगै बुटवल, वीरगञ्ज र हेटौंडामा अक्सिजन बैंक

admin

काठमाडौं, २२ बैशाख : कोरोना संक्रमित बिरामीको उपचारमा समस्या नहोस् भनेर अक्सिजन उत्पादन बढाउने क्रम सुरु भएको छ । केन्द्र, प्रदेश र पालिका सरकारसँगै नीजि क्षेत्रसमेत यो काममा सक्रिय भएर लागेका छन् । बुटवल, वीरगञ्ज, हेटौंडा लगायतका ठाउँमा अक्सिजन बैंक स्थापना भैसकेको छ ।

अरु ठाउँमा पनि अक्सिजन उत्पादन गर्ने तयारी भैरहेको छ । बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंक स्थापना गरेको छ । बैंकमा अक्सिजनसहितका सिलिण्डरको संग्रह हुने तथा अत्यावश्यक अवस्थामा अक्सिजन उपलब्ध हुने उपमहानगरपालिकाले जनाएको छ ।

उप-महानगरपालिकाका मेयर शिवराज सुवेदीका अनुसार होम आइसोलेशन, होटल आइसोलेशन तथा उपमहानगरको संस्थागत आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने छन् । अक्सिजनको अभावले कसैको उपचार नरोकिने उनले बताएका छन् ।

अक्सिजन बैंकमा एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ । यस्तै हेटौंडामा जटिल श्वासप्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ ।मकवानपुरमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको अक्सिजन बैंकमा ३० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमित भइ अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंकको स्थापना गरिएको हो । लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० किलो तौलका ३० सिलिण्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक राजेश वाग्लेले जानकारी दिए ।

लायन्स क्लबले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय, जिल्ला प्रहरी कार्यालय तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ सँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो । अक्सिजन आवश्यक पर्ने बिरामीको आफन्तले डाक्टरको सिफारिस तथा सम्बन्धित वडाध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी वीरगञ्ज महानगपालिका र लायन्स क्लबको साझेदारीमा वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । ४७ देखि ५५ लिटरसम्मका अक्सिजन सिलिण्डर वीरगञ्ज महानगरपालिका भित्रका कोरोना लागेका बिरामीलाई निःशुल्क वितरण गर्ने गरिएको महानगरपालिकाले जनाएको छ । डाक्टरले कोरोना संक्रमण भइ अक्सिजन प्रयोग गर्न पर्ने भनि सिफारिस गरेकाहरुलाई नागरिताको फोटोकपी पेस गरेपछि निःशुल्क अक्सिजन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

गंगालाल र प्रहरी अस्पतालमा उत्पादन सुरु
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन सुरु भएको छ । अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको प्रणाली सञ्चालनमा ल्याएको छ । प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अरु क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ ।

यस्तै काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट पनि अक्सिजन उत्पादन सुरु गरिएको छ । महानगरपालिकाले उपलब्ध गराएको करिब दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो ।

यो प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरपालिकाले प्लान्ट स्थापना गरिदिएको हो ।

प्रतिक्रिया