एकै पटक नौ सन्तान जन्माइन् मालीकी एक २५ वर्षीया महिलाले

admin

एजेन्सी, २३ बैशाख : अफ्रिकी देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छिन् । पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ । २५ वर्षकी हालिमा सिसेले पाँच छोरी र चार छोरा जन्मिएकी हुन् । उनीका पतिले आफू धेरै खुसी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु।’ माली सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने भन्दै मोरोक्को पठाएको थियो । पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्‍याएको थियो । मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो ।

गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् । ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए । ‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’ मालीकी स्वास्थ्यमन्त्री फान्ता सिबीले बयान जारी गरेर बताइन् । स्वास्थ्यमन्त्री फान्ता सिबीले माली र मोरोक्कोका स्वास्थ्यकर्मीलाई बधाई दिएकी छिन् ।

दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ । मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मंगलबार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो । यसरी एकै बेतमा नौ सन्तान जन्मिनु अत्यन्तै दुर्लभ घटना हो ।

यी महिलाको पति एड्जुदान्त कादेर आर्बी आफ्नो जेठी छोरीसँग अझै मालीमै छन् र उनले आफू पत्नीसँग सम्पर्कमै रहेको एवं परिवारको भविष्यका बारेमा चिन्तित नभएको बताएका छन् । उनले आफ्नो परिवारले प्राप्त गरेको सहयोगले उत्साहित भएको बताएका छन् ।

‘भगवान्‌ले हामीलाई यी बालबच्चा दिए । उनैले ती सबैलाई के हुन्छ भनेर निर्णय गर्छन् । म त्यो विषयमा चिन्तित छैनौँ । जब उनले केही गर्छन्, उनलाई किन भन्ने थाहा हुन्छ,’ उनले भनेका छन् । मालीको सरकारले पनि खुसी भएको बताउँदै उनले भने ‘सबैले मलाई फोन गरे, सबैले । मैले धन्यवाद दिएँ ! राष्ट्रपतिले पनि मलाई फोन गरे ।’

यस्तै सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ । यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ । तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियामा ती कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन् । विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए । ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए ।

प्रतिक्रिया