रामबहादुर थापा र खिमलाल देवकोटाले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

admin

मकवानपुर, २४ बैशाख : नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रबार उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् ।

गृह मन्त्री थापा शुक्रबार आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकप्टरबाट हेटौँडा पुगेका थिए । यस पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका समर्थनमा डाक्टर खिमलाल देवकोटाले पनि स्वतन्त्र उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ ।

सङ्घीयताविद् डा. देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

वाग्मती प्रदेश सभामा ६६ निर्वाचन क्षेत्रका एक सय १९ पालिकाका प्रमुख-उपप्रमुख दुई सय ३८ र वाग्मती प्रदेश सभा सदस्य एक सय १० जना गरी कुल तीन सय ४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार आउँदो जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मारहेको भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा पालिकाका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

प्रतिक्रिया