युवा संघ अध्यक्षको प्रश्न: खोप कमिशनको दुश्चक्रमा प्रधानमन्त्री स्वंय संलग्न त छैनन् ?

admin

काठमाडौं, २४ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने जोकोहीलाई नछाड्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष नरेश शाहीले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै अहिलेको महामारीका बेला मानवता विरुद्धको अपराधमा संलग्नहुने जोकोहीलाई पनि नछोडने चेतावनी दिएका हुन् ।

‘यो मानविय संकटको बेलामा पनि मानवता विरुद्धको अपराधमा संलग्नहुने जो कोहि सामाजिक दण्डको भागिदार हुने तथ्यलाई आत्मसाथ गर्दै त्यस्ता अपराधी र उनका मतियारहरुलाई समाजमा नाङ्गेझार पार्ने दिशामा कुनै कसर बाँकी नराख्ने युवा संघ नेपाल स्पष्ट पार्न चाहन्छ’ शाहीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

मानवीय संकटको बेलामा कसैले कमिशन, चर्को शुल्क असुली, कालोबजारी, आर्थिक अनियमितता गरेमा वा भैरहेको देखिएमा तत्काल नागरिकहरुलाई गोलबद्ध गर्दै हस्तक्षेप गर्न मातहतका कमिटीहरुलाई उनले निर्देशन समेत दिएका छन् ।

बजारमा अक्सिजन सिलिन्डर र रेम्डिसिभर जस्ता औषधीहरुको कालोबाजारीका कारण ति सामग्रीहरुको बजारमा कृतिम अभाव देखिएको छ । उपभोक्ताहरु खरिदमा चर्को मुल्यतिर्न बाध्य छन् । सरकार कालोबजारी नियन्त्रण गर्न पुर्णरुपमा असफल भइसकेको आरोप लगाउँदै उनले आइसोलेसन केन्द्र निर्माणको नाममा स्थानिय तहहरुमा आर्थिक अनियमितता भैरहेको तथ्य सार्वजनिक भएपछि त्यसमा नागरिक स्तरबाट अनुगमन गर्नुपर्ने आवश्यक रहेको जनाएका छन् ।


‘बन्दाबन्दीको समयमा अलपत्र परेका यात्रुहरुले यातायातको साधनप्रयोग गर्दा चर्को भाडादर तिर्नु परिरहेको छ । यस्ता विभिन्न समस्याहरुबाट नागरिकहरु दिनप्रतिदिन पिडीत बन्दै गएका छन् । असक्षम सरकार मुकदर्शक बनेर आफ्नो सरकार बचाउन मात्र केन्द्रित छ । स्वयं प्रधानमन्त्री बिचौलियाहरुलाई सल्लाहकार राखेर देशमा आर्थिक अनियमितता, कालोबजारी, बिचौलियातन्त्र संस्थागत गर्न उद्धत छन् । यो संकटको घडिमा एक जिम्मेवार नागरिककोरुपमा आफुलाई कृयासिल गराउन युवा संघ नेपाल आफ्ना सम्पुर्ण सदस्यहरुलाई आब्हान गर्न चाहन्छ’ माधव नेपाल निकट अध्यक्ष शाहीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

‘कोरोनाले मान्छे मरिरहंदा कमिशनको चक्करमा भ्याक्सिन आयातमा ढिलाई हुनुले लाशको ब्यापार र कात्रोमा कमिशन लिने खेलमै स्वयं यो सरकार दलालहरु मार्फत सहभागी भएको हो कि ? भन्ने गम्भिर आशंका उब्जिएको छ’ शाहीले भनेका छन् ।

कोभिड संकटको दौरानमा केहि निजी अस्पतालहरुले विरामीहरुसंग कानुनविपरित चर्को शुल्क असुलिरहेको अवस्थाप्रति संघले दुःख व्यक्त गर्दै यसमा सरकारी निकाय मुकदर्शक बनेर बसेको र उल्टै अनावश्यकको हल्ला भन्ने जस्ता सरकारका व्यक्तिहरुको गैरजिम्मेवारपूर्ण प्रतिक्रिया आउनु दुःखद विषय रहेको जनाएको छ ।

सिरम भ्याक्सिन खरिदमा भैरहेको बिचौलिया र कमिशनको दुश्चक्रको बृतान्तले आम नेपाली युवाहरुलाई गम्भिर आघात पुर्‍याएको छ । व्यापारीहरु सुरज बैद्य र विजय दुगडहरुको संलग्नतामा भैरहेको कमिशनको दुश्चक्रका कारण नेपालमा खोप अभियान प्रभावकारी हुन नसकेको र सयौं नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु परेको कुरा सार्वजनिक हुनु दुःखद रहेको छ ।

‘अझ यसमा प्रधानमन्त्री निकट व्यापारीहरु नै संलग्नहुनुले कतै कमिशनको यो दुश्चक्रमा प्रधानमन्त्री स्वंय संलग्न त हुनुहुन्न ? भन्ने आशंका आमजनमानसमा उब्जिएको छ । यस सन्दर्भमा केही दलाल ब्यापारी भुतप्रेतको कारण भ्याक्सिन आयातमा समस्या भएको भन्ने स्वास्थ्य मन्त्रीको भनाईले पनि धेरै कुराको प्रष्ट हुन्छ ।

अघिल्लो वर्ष कोभिडको संकटमा ओम्नी कम्पनी मार्फत भएका भ्रष्टाचारका कार्यहरु र अहिले भ्याक्सिन खरिदमा कमिशनको कारण भएको ढिलाईले नेपाली जनतालाई दुखित र अक्रोशित बनाएको छ’ अध्यक्ष शाहीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया