मेलम्चीका क्रसर उद्योगलाई नदीजन्य पदार्थ उत्खनन गर्न रोक

admin

सिन्धुपाल्चोक, २४ बैशाख :  मेलम्ची नगरपालिकाभित्र सञ्चालित क्रसर उद्याेगलाई नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । क्रसर उद्योगले आवश्यकभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन र भण्डारण गरेको पाइएपछि नगरपालिकाले उत्खननमा प्रतिबन्ध लगाएको नगरपालिकाका मेयर डम्बर अर्यालले बताउनुभयो ।

अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रालीले मापदण्ड विपरीत पोखरी निर्माण गरी उत्खनन गरेको पाइएको थियो भने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रालीले नदीको धार नै परिवर्तन गराइ अत्यधिक गहिराइमा उत्खनन गरेको भेटिएको थियो ।

त्यस्तै अनुगमनका क्रममा तीनपिपले निर्माण सेवा, सोना क्रसर उद्योग प्राली, जाल्पा इन्फ्रास्ट्रकचर प्राली र पाल्चोकीमाई रोडा ढुङ्गा उद्योग प्रालीलै मापदण्डभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि वैशाख १८ गतेभित्रमा बढी उत्खनन भएको ठाउँका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको थियो ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी र पत्रकारहरूको संयुक्त टोलीले निर्देशनको के–कस्तो पालना भएको छ भन्दै गरेको अनुगमनका क्रममा चार वटै क्रसर उद्याेगले तिनपिप्ले निर्माण सेवाले निर्देशनको पालना नगरेको पाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।

मापदण्ड विपरीत उत्खनन कार्यमा प्रयोग भएका क्रसर उद्योगका एक्साभेटरहरू नियन्त्रणमा लिइ ५० हजार रुपैयाँ जरिबानासमेत गरिएको मेलम्ची नगरपालिकाका सूचना अधिकारी तथा इन्जिनियर जितबहादुर कार्कीले बताउनुभयो ।

इन्द्रावती नदी क्षेत्रमा रहेका धेरैजसाे क्रसर उद्याेगले नदीको धार नै परिवर्तन गराइ मापदण्ड विपरीत उत्खनन गर्दै आएका कारण तटीय क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमिन बाँझिएका छन् भने माझी समुदायको पुर्ख्याैली पेसा नै सङ्कटमा परेकाे छ ।

प्रतिक्रिया