खनाल–नेपाल समूहका २२ सांसदको राजीनामा तयार : सत्ता जोगाउन ओलीलाई आज अन्तिम मौका

admin

काठमाडौं, २६ वैशाख : अन्तिम प्रयास गर्दा पनि प्रधानमन्त्री केपी ओली ‘नसच्चिएको’ निष्कर्षसहित एमालेको खनाल–नेपाल समूहका २२ सांसदले राजीनामा दिने निर्णय गरेका छन् । उनीहरू सामूहिक रूपमा संसद्बाट बाहिरिएमा ओलीले विश्वासको मत गुमाउने मात्र होइन, अल्पमतको सरकार बनाउने मौका पनि पाउने छैनन् ।

अब ओलीले पार्टीभित्रको विश्वास जोगाउन अन्तिम घडीमा नाटकीय निर्णय गर्नुपर्नेछ । नाटकीय निर्णयले एमाले सांसदको राजीनामा रोकिएमा पनि जसपाको पर्याप्त समर्थन नहुँदा बहुमत जुटाउन कठिन नै छ ।

ओली र सो समूहका नेताहरूसँग पटक–पटक भएका छलफल निष्कर्षमा नपुगेपछि शनिबार अपराह्नदेखि लगातार ६ घन्टा खनाल–नेपाल समूहका नेताहरूको बैठक बसेको थियो । राति ९ बजेसम्म बसेको बैठकको निष्कर्ष छ, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर पार्टी एकता तहसनहस पारेका ओलीलाई संसद्मा विश्वासको मत दिनु पार्टी र लोकतन्त्रका लागि घातक हुनेछ, त्यसैले ओलीलाई सत्ताच्युत गर्न संसद्बाट बाहिरिनु अनिवार्य भएको छ ।’

नेपाल समूहका करिब ३४ सांसद छन् । तर, समानुपातिक सांसदले राजीनामा दिएमा ओलीले तत्कालै नयाँ नियुक्त गर्न सक्छन् । त्यसैले प्रत्यक्ष निर्वाचितले मात्र राजीनामा दिने समझदारी भएको बैठकका सहभागीहरूले बताए ।

सोमबार संसद्मा विश्वासको मतमाथि छलफल हुँदै छ । त्यसैले एमालेका सबै सांसदलाई एकजुट बनाउन भेटघाट तीव्र भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ ०७५ मा फर्किन राखिएको सर्त ओलीले नमानेको असन्तुष्टहरूको दाबी छ ।

महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसालले शनिबार राति नयाँ पत्रिकासँग भने, ‘केपी ओलीलाई सच्याउन अधिक प्रयास भए । पटक–पटक वार्ता र छलफल पनि ग¥यौँ । तर, उहाँ एकताका लागि इमानदार हुने र सच्चिने सम्भावना करिब–करिब नरहेको पायौँ ।’

सांसदहरूले राजीनामा दिने समझादारी भइसकेको भए पनि यससम्बन्धी अन्तिम निर्णय गर्न सो समूहले आइतबार स्थायी समिति बैठक बोलाएको छ । ‘शनिबार सांसदहरूको बीचमा वार्ता र ओलीसँग भएका सबै विषयमा छलफल भयो ।

त्यो सबै राखेपछि ओलीले पार्टी एकता जोगाउन नचाहेको निष्कर्ष सांसदहरूका बीचमा रह्यो । अन्तिम निर्णय आइतबार बस्ने स्थायी कमिटीले गर्नेछ,’ भुसालले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया