ओलीलाई विश्वासको मत दिन सक्दैनौँ, नयाँ सरकारलाई पनि हाम्रो साथ रहन्न : महन्थ-राजेन्द्र

admin

काठमाडौं, २६ बैशाख : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताएका छन् । आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले जसपाले नयाँ सरकारलाई साथ दिने निर्णय नगरेकाले जसपाको भर गरेर अघि बढे गलत हुन सक्ने बताएका हुन् ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा कांग्रेस र माओवादीलाई साथ दिने निर्णय गरिसकेका छन् । तर ठाकुरले भने उपेन्द्र यादवको व्यक्तिगत निर्णयको पछि नलाग्न देउवालाई सुझाव दिएका छन् । देउवालाई भेटेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत नदिने बताएका छन् ।

‘अहिले तपाईँलाई विश्वासको मत दिन सक्ने अवस्था छैन, हामी तटस्थ बस्छौँ, सहयोगको धेरै आशा नगर्नुहोला’, ठाकुरले भने । भेटमा प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनमा मिलेर जान सकिने ठाउँ रहेकाले आफूलाई साथ दिन आग्रह गरेका थिए ।

आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको महतोले बताए । ‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौँ,’ महतोले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् ।

जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए ।

प्रतिक्रिया