राजीनामाको कुरा सोध्दा माधव नेपाल बोल्नुभएन : नेम्वाङ

admin

काठमाडौं, २६ बैशाख : नेकपा एमालेबाट निलम्बनमा परेका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ । छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरवार पठाएका थिए ।

नेम्वाङले कुरा गर्दै सञ्चारकर्मीसँग भने, ‘ओली कमरेडले माधवजीलाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्‍यौँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ ।’

नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिन लागेको विषय पनि छलफलमा उठेको थियो । ‘हामीले तपाईँहरूले राजीनामा दिन लाग्नुभएको कुरा पनि सुनेका थियौँ भनेर कुरा राख्यौँ, राजीनामाको कुरा सुन्दा माधव कमरेडले टाउको हल्लाउनुभयो, खासै केही बोल्नुभएन’, नेम्वाङले भने ।

पार्टीमा रहेका समस्या वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड रहेको कुरा आफूहरूले राखेको पनि नेम्वाङले जानकारी दिए । छिट्टै फेरि वार्तामा बस्ने कुरा भएको र यो बीचमा राजीनामा दिने जस्ता तिक्ततापूर्ण कुरा नहोस् भन्ने कुरा आफूहरूले राखेको उनले बताए ।

प्रतिक्रिया