जसपाले ह्वीप जारी नगर्ने, उपेन्द्र र बाबुराम समूहले विपक्षमा मत हाल्ने

admin

काठमाडौं, २६ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मतका लागि सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ।

संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा भएको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिने भनिएको विश्वासको मतको पक्षमा भोट हाल्ने/नहाल्ने, पक्षमा हाल्ने वा विपक्षमा हाल्ने गरी स्वतन्त्रता दिएको हो।

जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने लाइनमा छ भने बाबुराम र उपेन्द्र यादव ओलीको विपक्षमा मत हाल्नुपर्ने पक्षमा छ। दुबैको फरक लाइनमा सम्बोधन गर्नेगरी जसपाले ह्वीप जारी नगर्ने निर्णय गरेको नेता डम्बर खतिवडाले जानकारी दिएका हुन्।

‘अब सांसदहरु विपक्षमा मत हाल्न वा तटस्थ बस्न स्वतन्त्र हुनेछन्। यसलाई पार्टीको अनुशासनको विषय बनाइने छैन। अहिले यो मध्यमार्गी बाटोबाट पार्टी एकता जोगाउने र भोलिको मतदानपछि स्थितिको बृहत समीक्षा गरी एकीकृत कार्यदिशा तय गर्ने सहमति भएको छ,’ खतिवडाले भनेका छन्।

बैठकपछि अध्यक्ष भट्टराईले भने ओलीको विपक्षमा भोट हाल्न सांसदलाई आह्वान गरेका छन्। ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ,’ भट्टराईले भनेका छन्, ‘सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’ जसपाका ३२ सांसद छन्। महन्थ-राजेन्द्र र उपेन्द्र र बाबुराम दुबै समूहले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया