महामारीसँगै भोकमरीको डर

admin

काठमाडौं, २७ वैशाख : कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न रोक लगाइएपछि दैनिक ज्यालादारी गरेर गुजारा टार्नेहरू र अनौपचारिक क्षेत्रका श्रमिकहरू आम्दानी नहुँदा यतिबेला महामारीसँगै भोकमरीमा पर्ने डरमा छन् ।

मुख्यतः साना लगानीका व्यवस्था तथा त्यस्ता श्रमिकहरूलाई लक्षित गरेर महामारीमा सरकारले राहत तथा कुनै प्याकेज ल्याउन नसक्दा उनीहरूलाई भोकमरीमा पर्ने चिन्ता बढेको उनीहरू बताउँछन् ।

काठमाडौंको भृकुटीमण्डपमा फेन्सी व्यापार गर्दै आएका काभ्रेका रत्न श्रेष्ठले १० दिनदेखि निषेधाज्ञाका कारण पसल खुलाउन नपाएको र अहिले हातमुख जोर्नै कठिन हुन लागेको बताउँछन् । लामो समय निषेधाज्ञा लम्बिए स्टलको भाडा कसरी तिर्ने हो भन्ने चिन्ताले सताउने गरेको उनले बताए ।

त्यस्तै, न्यूरोडमा मोबाइल तथा टिभी पसल सञ्चालन गर्दै आएका राजेश श्रेष्ठ पनि उस्तै तनावमा देखिन्छन् । निषेधाज्ञाका कारण पसल बन्द गर्नुपरेको र व्यापार गर्न नपाउँदा बेहाल हुन लागेको बताउँछन् । उनलाई पनि निषेधाज्ञा लम्बिँदै गयो भने व्यापार गर्न नपाउँदा महँगो सटरभाडा कसरी तिर्ने हो भन्ने चिन्ताले पिरोलिरहेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया