सरकारको विश्वासको प्रस्ताव माथि मतदान चल्दै

admin

काठमाडौं, २७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मत माथिको प्रस्तावमा मतदान भइरहेको छ । प्रतिनिधि सभा बैठक कक्षमा मतदान चलिरहेको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेको औचित्यता बारे बोल्नु भएपछि संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बोल्नु भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरुले उठाउनुभएको विषयलाई सम्बोधन गर्दै आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रधानमन्त्रीले भनाइ राखेपछि मत विभाजनको लागि पाँच मिनेटसम्म बेल बजाइएको थियो । बेल बजेपछि प्रतिनिधि सभाको बैठक कक्षका सबै ढोका बन्द गरेर मतदान चलिरहेको छ । कोभिड संक्रमित प्रतिनिधि सभा सदस्यलाई मतदानको लागि लोत्से हलमा छुट्टै व्यवस्था गरिएको छ ।

अहिले सरकाको पक्ष, विपक्ष र तटस्थ रहने प्रतिनिधि सभा सदस्यले अलग अलग लाइनमा उभिएर मतदान गरिरिहनुभएको छ । मतदानपछि मतगणना गरी घोषणा गरिने छ ।

नेकपा एमालेको माधव समूहका सांसद्ले आजको बैठक बहिस्कार गरेका तथा जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षका सांसद् मतदान प्रक्रियामा तटस्थ भएपछि सरकारले विश्वासको मत गुमाउने निश्चित जस्तै भएको छ । सरकारलाई विश्वासको मत पाउन कम्तीमा १ सय ३४ मत चाहिन्छ ।

विश्वासको मत गुमेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुनेछ । त्यसपछि राष्ट्रिपतिले आवश्यक संख्या पुर्याएर एक भन्दा बढी दललाई सरकार बनाउने दाबी पेस गर्न आह्वान गर्नु हुनेछ ।

अहिलेको राजनीतिक समिकरणमा त्यो पनि सम्भव नभएकोले पुनः केपी ओलीकै नेतृत्वमा सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेकै सरकार बन्नदेखिएको छ ।

प्रतिक्रिया