अब विवाह, व्रतबन्ध पार्टी प्यालेसमा गर्न नपाइने, उपत्यकामा निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

admin

काठमाडौं, २८ बैशाख : अब काठमाडौं उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । ​मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा विवाहलगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो ।

विवाहलगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ । तर घरमा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ ।

यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गतेसम्म र दोस्रो चरणमा बैशाख २९ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा मंगलबार फेरि १५ दिनका लागि थपिएको हो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले स्वास्थ्य मापदण्ड पालना भए-नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेलाई जरिबाना गर्ने, अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताए । खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने छ ।

यस्तै मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रजिअ पराजुलीले बताए । उक्त बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरेको छ ।

यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया