काठमाडौं, २९ बैशाख : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको एक वर्षभित्रमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
राजनीतिक अस्थिरता बिग्रँदै गएको भन्दै उनले अबको एक वर्षभित्रमा चुनाव गर्ने र त्यसअघि राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताए ।
सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने र एक वर्षभित्र चुनावमा जानुपर्ने बताएका हुन् ।
देशमा देखिएको संकट समाधानका लागि सबै दलको सहभागिता आवश्यक रहेको भन्दै उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर अघि बढ्न सकिनेसमेत बताएका छन् । उनले सबैको सहमतिमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र संविधान संशोधनका मुद्दामासमेत सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन् ।