काठमाडौं, २९ बैशाख : एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।
एमालेका झलनाथ खनाल-माधव नेपाल समूहका नेता भुसालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीसँग आत्मसमर्पण नगर्ने, पार्टीमा छलफल गरी उपयुक्त निर्णय गरेर मात्रै अघि बढ्ने बताए । बैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल-नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए ।
त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् । यस्तै नेता भुसालले सामाजिक सञ्जालमा समेत विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताएका छन् ।
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालको भनाइ छ । उनले विगतमा प्रचण्डलाई गाली गरेर जबरजस्त पार्टी विभाजनतिर लैजानेहरु अहिले फेरि झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई पनि विभाजित गर्ने प्रयास गरेको बताएका छन् ।
खनाल-नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली असहमत नहुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ। मंगलबार समेत भावी रणनीति बनाउन र पछिल्लो घटनाक्रमको समीक्षा गर्न नेपाल समूहको भर्चुअल बैठक बसेको थियो ।
उक्त बैठकमा ओलीलाई विश्वासको मत नदिएर उपयुक्त निर्णय भएको विष्लेषण गरिएको थियो । त्यस्तै छलफलमा ओली पदमुक्त भैसकेको अवस्थामा कसरी जाने भनेर अन्य दलको भूमिका र आवश्यक्ता अनुसार निर्णय गर्ने नेताहरुले जोड दिएका थिए ।