काठमाडौं, २९ बैशाख : नेकपा (एमाले)का दिवंगत नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट नेता चौलागाईंको निधन भएको हो । चौलागाईंको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं एक निष्ठावान्, इमान्दार नेता थिए । उनको निधनले साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको नेताहरुले बताएका छन् । त्यसअघि बुधबार बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । एमाले पोलिटब्यूरो सदस्य चौलागाईं दोलखा ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा-१ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।