गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

admin

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। बुधबार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्।

गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ ९२० अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्न आह्वान गरेकी थिइन्। तर प्रदेश प्रमुखले दिएको समयभित्र कसैले पनि ३१ सांसदको हस्ताक्षर बुझाउन सकेनन्।

कांग्रेस, माओवादी, जसपा र राजमो एकजुट भएर नयाँ सरकार गठन गर्न कसरत गरेका थिए। तर, राजमोका सांसद खिमविक्रम शाही र कृष्ण थापाले कांग्रेसहित गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेनन्। यी दुई सांसदले सहयोग नगरेपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेनन्।

हस्ताक्षर पुर्‍याउन नसके पनि उनले आफूलाई चार दलका सबै सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र लेखेका थिए। तर, शाही र थापाले आफूहरु तटस्थ रहेको भन्दै विज्ञप्ति निकालेपछि प्रदेश प्रमुखले ठूलो दलको हैसियतले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

प्रतिक्रिया