पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरेका छन् । प्रदेशको प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै सपथ ग्रहण गराएकी हुन् ।
मुख्यमन्त्री गुरुङले गत २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज सकिएको थियो ।
प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बनेको हो । बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र खिमबिक्रम शाहीले आफू तटस्थ रहेको बताएका थिए । र, थापाले आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।
समचार स्रोतका अनुसार मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेका छन् । उनलाई आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको । मुख्यमन्त्रीमा दोस्रोपटक संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुखले नियुक्त गरेकी हुन् । उनले अब एक महिना पछि विश्वासको मत लिनुपर्नेछ ।