अस्पतालमा बिरामी छट्पटाइरहेका बेला सांसद चौधरीको घरमा लुकाएर किन राखियो अक्सिजन सिलिन्डर ?

admin

काठमाडौं, २ जेठ : एमालेकी सांसद गंगा चौधरीको घरमा केही थान चिनियाँ अक्सिजन सिलिण्डर भेट्टिएका छन् । चीनले अनुदानमा दिएको सिलिण्डर सांसदको घरमा लुकाएर राखिएको अवस्थामा भेटिएको हो । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसद चौधरीले तुरुन्तै अस्पताललाई बुझाउनुपर्ने सिलिण्डर घरमा लुकाएर किन राखिन् भन्दै सामाजिक सञ्जालमा अक्रोस पोखिएको छ ।

सोही विषयलाई लिएर सामाजिक अभियन्ताहरुले समेत घरमा सिलिण्डर राखेर उपचार कसरी गर्ने ? घरमा के कारणले राखिएको प्रमाण सार्वजनिक गर्न किन नसकेको भन्दै सांसद चौधरी माथी ठाडो प्रश्न गरेका छन् । कतिपयले भने यस विषयलाई २०७२ सालको भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग तुलना गरेका छन् ।

उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । सांसदले अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको सूचना पाएको भन्दै केही युवाहरु काठमाडौंको शान्तिनगरस्थित उनको डेरामा पुगेका थिए ।

सोही क्रममा सांसद चौधरीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताएकी छिन् । उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको पनि बताएकी छिन् ।

सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै कागजपत्र देखाएपछि उनीहरु फर्किएको बताइन् । उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दाबी समेत गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन् ।

प्रतिक्रिया