काठमाडौं, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै (ध्वस्त) भयो भनिएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गरे । (हिजो) शनिबार बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उनले भने, ‘सिस्टम नै कोल्याप्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्यो ।’
सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उनले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए । महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गरे । साथै उनले सबैलाई कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गरे ।
उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर-सरकारी संस्था, गैर-आवासीय प्रतिनिधिलगायत सबैले आ-आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढङ्गले होइन ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गरे ।
अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा
प्रधानमन्त्री ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको पनि बताएका छन् । उनले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उनले त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोरोना नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकार अभिभावक भएकाले समस्याका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् । विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र नागरिकको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।