काठमाडौं, २ जेठ : एमालेकी सांसद गंगा चौधरीले चीनले अनुदानमा दिएको सिलिण्डर घरमा लुकाएर राखिएको भन्ने खबरप्रति स्पष्टीकरण दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिँदै भनेकी छिन्, आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताएकी छिन् ।
उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलिण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन् ।