जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा कार्यदल बन्यो

admin

काठमाडौं, २ जेठ : नेकपा एमाले २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो । कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरू सबै कुरा टुङ्गो लगाउनका लागि वार्ता टोली बनाइएको अध्यक्ष ओलीसँगको छलफलपछि नेता नेपालले जानकारी दिए । (अस्ति) शुक्रबार ओली र नेपाल पक्षका नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।

यसअघि जेठ २ गते नफर्कने भए सामूहिक राजीनामा दिने खनाल–नेपाल समूहले तयारी गरेपछि अध्यक्ष ओली जेठ २ गते फर्कन तयार भएका थिए । त्यही सहमति कार्यान्वयनका लागि आइतबार कार्यदल बनेको हो । कार्यदलका लागि तीन दिनभित्र प्रतिवेदन तयार गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया