काठमाडौं, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।
‘यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।
सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएकोमा आइतबार भने प्रधानमन्त्रीले त्यसको अध्यक्षता गरेका हुन् । सीसीएमसीको बैठकले कोरोना संक्रमितको उपचार तथा कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा तदारुकताका साथ लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।