काठमाडौं, ३ जेठ : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मदन-आश्रितको २८औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका हुन् । २८ वर्ष अघि तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो ।
उनले घटनासँग जोडिएका अमर लामाको रहस्यमय ह’त्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताएका छन् । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।
मदन भण्डारीले देखाएको बाटो हिँड्नको लागि एकताबद्ध, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको बताउँदै नेता नेपालले फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार भएर क्रान्तिलाई अघि लैजान सके मात्रै उनीप्रतिको सम्मान हुने बताएका छन् ।
‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले जारी गरेको विज्ञप्तिमा छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’