काठमाडौं उपत्यकाका पालिकाहरुको सक्रियता बढ्यो

admin

काठमाडौं, ३ जेठ : कोरोना भाइरसको संक्रमण माहामारी रुपमा फैंलिदै जाँदा काठमाडौं उपत्यकाका पालिकाहरुले सक्रियता बढाएका छन् । पालिकाहरुले अक्सिजन प्लान्ट सञ्चालनदेखि अस्पतालहरुलाई सहयोग, आइसोलेशन केन्द्र स्थापना, कन्ट्याक्ट ट्रेसिङ लगायतका कामलाई तीव्रता दिएका हुन् । अहिलेसम्म काठमाडौं महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् ।

काठमाडौं महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा र मध्यपुर थिमी नगरपालिकाले नेपाल-कोरिया मैत्री नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर अक्सिजन उत्पादन शुरु गरिसकेका छन् । ललितपुरको ललितपुर महानगरपालिका, काठमाडौंको टोखा र कागेश्वरी मनोहरा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका लगायतका पालिकाहरुले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया अघि बढाएका छन् ।

कोरोना संक्रमितको उपचारको लागि काठमाडौं महानगरपालिकाले १२ वटा अस्पतालसँग सम्झौता गरिसकेको छ । उपचारलाई प्रभावकारी बनाउन र संक्रमण रोक्नका लागि नीतिगत निर्णयसहित कामहरु अघि बढाइएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ललितपुर महानगरपालिकाले पनि कोरोना विरुद्ध लड्न रणनीति बनाउने निर्णय गरेको छ ।

अहिले आइसोलेशन स्थापना, अक्सिजनको आपूर्ति लगायतमा ध्यान केन्द्रित गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । चन्द्रागिरि नगरपालिकाले मेयर-उपमेयरको गाडीलाई समेत एम्बुलेन्स बनाउँदै कोरोना र अरु समस्या भएका बिरामीहरुलाई अस्पताल वा अस्पतालबाट घर जान निःशुल्क सेवा दिन थालेको छ ।

काठमाडौं महानगरपालिकाले पनि निस्शुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । गत वर्ष लकडाउनका बेला राहत वितरण लगायतमा केन्द्रित भएका काठमाडौं उपत्यकाका पालिकाहरु यस वर्ष संक्रमण रोक्न, उपचार तथा स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न लागि परेका छन् । यसैबीच उपत्यका नगरपालिका फोरमले एकीकृत आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं नगरपालिकाले ३४ प्रतिशत, ललितपुर महानगरपालिकाले १६ प्रतिशत र बाँकी नगरपालिकाहरुले ५० प्रतिशत खर्च बेहोर्ने गरी एकीकृत आइसोलेशन केन्द्र स्थापना गर्न प्रस्ताव गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

विभिन्न ठाउँमा कम क्षमताका आइसोलेशन बनाउनुभन्दा एकै ठाउँमा चार-पाँच सय बेड क्षमताका आइसोलेशन केन्द्र स्थापना गर्दा अक्सिजन लगायतको आपूर्ति र अरु व्यवस्थापनमा सहज हुने फोरमको विश्वास छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव गरेको र स्वीकृति पाएपछि काम शुरु गर्ने मेयर महर्जनले बताए ।

प्रतिक्रिया