काठमाडौं, ३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ । यही बैशाख ३१ गते ठूलो दलको हैसियतबाट शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भनेका थिए ।
ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका छन् । यो रिटमाथि सर्वोच्च अदालतले भोलिका लागि पेसी तोकेको छ ।
रिटमा प्रधानमन्त्री ओलीले बैशाख ३१ गते लिएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रो पटक शपथ ग्रहण गर्नू-गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश माग गरिएको छ । राष्ट्रपतिले शपथ गराउँदा सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भने पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेर टारिदिएका थिए । यसबाट राष्ट्रपति भण्डारी र राष्ट्रपति संस्थाकै अपमान भएको रिटमा उल्लेख छ ।