इजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दा नेपालीलाई यी सुरक्षाका उपाय अपनाउन दूतावासको अनुरोध

admin

काठमाडौं, ३ जेठ : इजरायल र प्यालेष्टाइनबीच बढ्दै गएको तनावका कारण इजरायलमा रहेका नेपालीलाई सचेत रहन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । तनावका कारण इजरायलमा रहेका नेपालीमा पनि डर त्रास पैदा भएको भन्दै त्यहाँ विभिन्न सुरक्षाका उपायहरु अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको हो ।

दूतावासका अनुसार इजरायलको जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको संख्यामा रकेट आक्रमण भइरहेको छ । यो परिस्थितिलाई नजरअन्दाज नगर्न तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरूको खोजी गर्नेतर्फ लाग्न दूतावासले अपिल गरेको छ ।

यी हुन् दूतावासले सुझाएका सुरक्षाका उपायहरू :-
– साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जानपर्छ । साइरन बजेको सुनेपछि यी ठाउँमा जान अल्छी गर्न हुँदैन । झ्याल नजिक तथा भित्तामा खस्न सक्ने सामानको जान हुँदैन ।

– यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा साइरन बजेपछि नजिकैको बङ्करमा पुगिहाल्नु पर्छ । त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्नुपर्छ ।

– कतिपयले रकेट लन्च भइरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएको भन्दै त्यसो नगर्न दूतावासले अनुरोध गरेको छ ।

– अप्ठ्यारो परिस्थितिमा नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा सूचना प्रवाह नगर्न र परियारलाई समेत त्रसित नगराउन पनि दूतावासले भनेको छ ।

– कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न सकिन्छ । दूतावासमा द्वितीय सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० मा र श्रम सहचारी प्रदीप सागर गिरीलाई ०५४३३०६०७० मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया