पार्टी एकीकरण गर्न हामी हिम्मत हार्दैनौँ : नेता श्रेष्ठ

admin

काठमाडौं, ३ जेठ : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका र विदेशका शक्तिको योजनामा पार्टी फुटाइएको बताएका छन् । विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक-आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि पार्टी फुटाइएको उनले बताएका हुन् ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीको एकता आवश्यक रहेको बताएका हुन् ।

उनले अझै पनि कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको बताए । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पङ्क्तिमा पुर्‍याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र नागरिकप्रति गम्भीर रूप र इमानदार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिस्टहरूको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ । अब हामीले फेरि कम्युनिस्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढङ्गले प्रष्ट पारेर, सांस्कृतिक रूपान्तरणको अभियान पनि कम्युनिस्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रूपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि बताए । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी कमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाइ छ । यद्यपि कम्युनिस्ट पार्टीबीचको एकीकरण गर्न आफूहरूले हिम्मत नहार्ने उनले बताए ।

उनले भने, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौँ । कम्युनिस्टहरूले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिस्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’

नेकपा माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रूपान्तरण गर्दै कम्युनिस्ट, क्रान्तिकारीसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए ।

प्रतिक्रिया