निषेधाज्ञा कहर : बिरामी कुरुवा भोक भोकै

admin

धनकुटा,  ४ जेठ :  कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् । होटल बन्द भएका कारण खाना खान नपाउँदा विरामी कुरुवा भोकभोकै बस्न बाध्य भएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गर्यो । तर, संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गएपछि बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

होटल, रेष्टरेन्ट, खाजा तथा चिया पसलहरु बन्द गराइएको छ । अस्पतालबाट घर नजिक हुँनेहरुले घरबाटै खाना ल्याएर खाने गरेका छन् भने बजारमा आफन्त हुनेहरुलाई पनि खासै गाह्रो छैन । तर, टाढाबाट उपचारका लागि धनकुटा जिल्ला अस्पताल आएकाहरुले खान नपाएर भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् ।

छोरा विरामी भएर उपचारका लागि धनकुटा जिल्ला अस्पताल लिएर आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमर्जुङका खगेन्द्र भट्टराईले होटल बन्द हुँदा दुई दिनदेखि खाना खान नपाएको गुनासो गरे ।

‘हस्पिटल आसपासका सबै होटलहरु बन्द छन्, होटल नखुल्दा खाना खान पाइएन् ।’ उनले भने, ‘यहाँ भएका क्यान्टिनमा पनि खान खुवाउन छोडेका रहेछन्, केही उपाय नपाएपछि चाउचाउको भरमा दिन कटाउँनु परिरहेको छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया