कोरोनाबाट गुज्रिँदाको अनुभव सुनाउँदै ‘लोकमणि पौडेल’

admin

काठमाडौं, ४ जेठ : अहिले सिङ्गो मुलुक कोरोना कहर बाट गुज्रिरहेको छ । मुलुक मात्र के सारा विश्व यो महामारी बाट आक्रान्त र सन्तप्त छ । हाम्रो मुलुकमा केही रावण स्वभाव का मानिसहरू पनि सत्तामा आसीन छन् जसले एसलाई अर्थोपार्जनको अवसरका रूपमा लिइरहेका छन् । संवेदनाबिहीन भएर अन्टसन्ट बहकिरहन्छन् । केही निजी अस्पतालका सञ्चालकहरू पनि यस्तै कुत्सित स्वार्थले ग्रसित छन् । बिरामीलाई सुविधा दिने तिर भन्दा बिरामी बाट पैसा असुल्ने अनेक उपाय र बाटाहरूको खोजीमा दिनरात खटेका छन् । खोप लगाइसकेका डाक्टर र नर्सहरू पनि कोरोनाका बिरामीबाट दश हात परै बसेर मनलाग्दी निर्देशन दिइरहेका भेटिन्छन् । बडो दिक्दारीको अवस्था विद्यमान छ ।

मुलुक सँगसँगै म पनि कोरोना को गम्भीर दुष्चक्र मा फँसेर विस्तारै सुधारको दिशा तर्फ अग्रसर भएको छू । शुरुमा आफ्ना लक्षणहरु हेर्दा मलाई कोरोनाको शंका लाग्यो र पीसीआर जाँच गरेर हेरें । नेगेटिभ देखियो । त्यो रिपोर्ट देखेर मन ले राहत माने पनि शरीर ले राहत महसूस गर्न सकेन । स्थिति झन् अपठेरो र असहज हुँदै गयो । मेरो शरीर अनेक रोगहरू का कारण बलियो थिएन । मैले विगतमा पौंठेजोरी खेलेका निम्न रोगहरूले मलाई कमजोर पारिरहेकै थिए ।

१. २९ वर्ष अगाडी भएको मुटुको शल्यक्रिया र एओर्टिक भल्भ रिप्लेसमेन्ट ।

२. २९ वर्ष अगाडी नै दाहिने खुट्टामा रक्तप्रवाह नभए पछि डा. अवनीभूषण लगायत ले खुट्टै काट्नुपर्छ भनेर अपरेश को समय निश्चय गरिसके पछि वीर अस्पताल बाट भागेर दिल्ली पुगी खुट्टा को अपरेशन गरेर निको पारेको अवस्था ।

३. दश वर्ष अगाडी भएको गम्भीर न्यूमोनिया का कारण दाहिने तर्फ को फोक्सो को तल्लो भाग कुहेर झरेको अवस्था ।

४. मुटु कै समस्या ले गर्दा बेला बेला पिसाब नहुने र पिसाब का लागि समय समय मा ल्यासिक्स खानुपर्ने अवस्था ।

५. ७ वर्ष अगाडी किड्नी मा पत्थर देखिए पछि लामो समय सम्म निरी सेवन गरेर पत्थर लाई सानो पारेको तर पूरै सफा भइ नसकेको अवस्था ।

६. आज भन्दा २५ वर्ष अगाडी देब्रे आँखा ले देख्न छाडे पछि आँखा को अपरेशन गरी प्लाष्टिक को लेन्स राखेको थिएँ । तर केही महीना एता तेसमा पुनः समस्या देखिन थाले पछि अनेक औषधिको प्रयोग गरिरहेको अवस्था ।

७. मुटुमा प्लाष्टिकको भल्भ भएकाले थोरै ज्वरो आउँदा पनि डराउनुपर्ने परिस्थिति बाट गुज्रिरहेको अवस्था ।

मैले यी समस्याहरू यसकारण भनिरहेको छुकी यतिका धेरै समस्या हुँदा पनि म कोरोना सँग पूरै आत्मबलका साथ भिडें र निको हुने दिनहरू गनिरहेको छु । त्यसैले कुनै गम्भीर रोगको शिकार हुँदैमा कोरोनाले लगिहाल्न सक्दैन भन्ने कुरालाई मनमा बलियोसँग गाँठो पारेर राख्नुहोस् । मैले माथी भन्दै थिएँ । पीसीआर नेगेटिभ आए पनि मलाई अनेक समस्याले पिरोलिरहे । अनि डा. ज्योति भट्टराई तथा डा. परिमल कोइरालाको सल्लाहले रगतका अनेक जाँच तथा छातीको एक्स रे गराएँ । उहाँहरू तथा अर्का सहयोगी डा. दमनराज पौडेल धन्यवादका पात्र हुनुहुन्छ ।

CBC, Ferritin, LDH, CRP quantitative, Chest-Xray इत्यादि । सबै रिपोर्टले कोभिड-१९ तर्फ संकेत गरे । Ferritin त करीब ८०० पुगेको देखियो जो गम्भीर कोरोनाको संकेत रहेछ । LDH पनि कल्पनातीत धेरै थियो जसले फोक्सोका केही भागहरू क्षतिग्रस्त भएको देखाउँथ्यो । ०-५ भित्र हुनुपर्ने CRP ३७ पुगेको थियो । एक्स रे ले पनि गम्भीर प्रकृति को भाइरल न्यूमोनिया देखायो । त्यसपछि सीटी स्क्यान गरियो । त्यसैले अझै खराबी अवस्था उजागर गर्यो । अनि पुनः पीसीआर परीक्षण भयो । त्यसैले कोभिड पोजिटिभ देखायो । मेरा शारीरिक लक्षणहरू यस्ता थिए ।

१. सास फेर्न अपठेरो हुने ।

२. छाती दुख्ने । अगाडी पछाडी दुवै तिर ।

३. १०२ वरिपरि ज्वरो आउने । सिटामोल खाँदा केही घटे पनि १०० भन्दा तल नझर्ने ।

४. मिर्गौला पनि दुखिराख्ने ।

५. अक्सिमीटरमा अक्सिजन ८० देखि ८७ ।

६. वाकवाकी लाग्ने । खान नरुच्ने । पानी पनि पिउन गाह्रो हुने ।

७. दिसा नहुने । भएमा थोरै र पातलो हुने ।

८. एसिडिटी बढेर जति बेला पनि ढ्याऊ ढ्याऊ भइरहने ।

९. एकदमै कमजोर भएको महसूस हुने र हिँड्दा घुमाउने ।

अक्सिजन लेभल ८७ भन्दा तल जानु भनेको राम्रो होइन भन्ने सुनें । अक्सिजन सिलिन्डरको खोजी भयो तर पाइएन । म सँगसँगै मेरी श्रीमतीको हालत पनि उस्तै थियो । रगतका रिपोर्टहरू मेरा जत्तिकै खराब नभए पनि हेमोग्लोबिनको स्तर घटेर ८ पुगेको थियो । अक्सिजन लेभल उनको पनि घटेको थियो । हामी हतारिएर टिचिङ पुग्यौं ।

त्यहाँ डा. दमनराज पौडेलका सहायताले भर्ना भइयो । अक्सिजन को सपोर्ट मा बस्न थालियो । तर दुई रात पनि बित्न नपाउँदै मलाई गम्भीर कोरोना भएको भनेर कोरोना वार्डमा सार्ने कुरा भए । हामी डराएर अस्पतालबाट विदा भयौं । हामीलाई घरमै अक्सिजन लिने व्यवस्था मिलाउने जिम्मा कविवर रामप्रसाद घिमिरेले लिनुभयो । तर एक रात घरमा बसेपछि केही आफन्तीहरूले गैंडाकोट देखि फोन गरेर अस्पतालै बस्नुपर्ने सल्लाह दिनुभयो ।

त्यसपछि पनि अस्पताल को बसाई सहज भएन । कोरोना बिरामी र कोरोना वार्ड भने पछि बिरामी पूरै अलग भएर बस्नुपर्ने । म त्यहाँ बाट पनि विदा भएर घरै आएँ । केही आफन्तीहरुले अस्पताल छाडेकोमा गुनासो गरे । मेरो पीडा मैसँग थियो । मेरा साथ कविवर रामप्रसाद घिमिरे जी हुनुहुन्थ्यो । उहाँले नआत्तिन र घरमै आइसोलेशनमा बसेर अक्सिजन र दबाई लिनु नै सर्वोत्तम उपाय हो भनेर सम्झाउनुभयो । मैले तेसै गरें । गरिरहेको छू । मैले यो बीचमा अनुभव गरेका उपचारका प्रक्रियाहरू तल टिपेको छू ।

१. बिहान बेलुका र साँझ पानी को बाफ लिने । बाफ लिने पानीमा आधा चम्चा भन्दा थोरै ज्वानो र आधा चम्चा बेसार हालेर उमालेको हुनुपर्ने ।

२. हरेक आधा घण्टा मा तातो पानी पिउने । नरुचे पनि बल गरेर ।

३. हरेक घण्टा मा केही न केही खाने। तर चिसो लाग्ने खानेकुरा कम खाने ।

४. कार्बोहाइड्रेड भन्दा प्रोटीन बढ्ता भएका खानेकुरा खानु राम्रो रहेछ ।

५. ज्वरो घटाउन दिन को तीनपल्ट सिटामोल या फ्लेक्सन खाने । मैले फ्लेक्सन भाँचेर आधा आधा तीन पटक खाने गरेको छू ।

६. मैले क्लाभाम ६२५ खाइरहेको छू । यो राम्रो एन्टिबायोटिक रहेछ ।

७. दिनको दुई पटक जिंक र मल्टिभिटामिन खाइरहेको छू ।

८. भिटामीन सी दिनको तीन पटक चुस्ने गर्छू ।

९. क्याल्सिमय तथा भिटामीन डी नियमित खाइरहेको छू ।

१०. अक्सिजन १ लेभल मा लिइरहेको छू ।

११. कुरिलाको सूप, मशरुम सूप, तथा अरु पनि जे रुच्छ त्यो बल गरी गरी खाइरहेको छू ।

१२. कोठामा ठाउँ ठाउँ मा कपूर, ज्वानो र ल्वाङ कपडामा बाँधेका पोकाहरू राख्न लगाएको छू ।

१३. पाती सुँघ्नु पनि राम्रो हो भन्ने सुनें तर यहाँ बजारमा पाती कहाँ बाट पाउनु ?

म हिजो देखि सञ्चो भएको बाटो मा हिँड्दै गरेको अनुभव गरेको छू । यस दौरान मलाई प्रत्यक्ष अप्रत्यक्ष शुभकामना आशीर्वाद प्रदान गर्नुहुने समस्त महानुभावमा हार्दिक कृतज्ञता व्यक्त गर्दछू । मैले धेरै काम गर्न बाँकी छ । म चाहन्छु यस समस्याबाट निवृत्त भएपछि मेरा हरेक पलहरू सबैको कल्याणका लागि उपयोगमा आऊन् । जय श्रीराम । लेखक तथा भाषाविद् लोकमणि पौडेलको फेसबुकबाट

प्रतिक्रिया