कोरोनासँग जुधिरहेका लामिछाने भन्छन्,’पूरा जीवन दुखेको छ, बाहिर हेर्दै कराउन मन छ’

admin

काठमाडौं, ४ जेठ : नेपाली चलचित्र निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएपछि केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् । उपचार गराइरहेका निर्देशक लामिछानेले भावुक हुँदै सामाजिक सञ्जाल मार्फत् कारोना भाइरससँगको जुधाइ कहिले काँही मृत्यु भन्दा जीवन असहज लाग्ने उल्लेख गरेका छन् ।

निर्देशक लामिछानेसहित उनकी श्रीमती र छोरी कोरोना संक्रमणसँग लडिरहेका छन् । कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिएको छ ।

निर्देशक लामिछानेले अस्पतालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्लेख गरेका छन् । उनको स्टाटसमा फिल्मकर्मीहरुले मनोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । निर्देशक लामिछाने भने विगत ४ दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।

उनले लेखेका छन्-‘आज अस्पतालको बसाइको चौथो दिन । कोठाको ४ वटा भित्ताले घरी घरी पीडा दिइरहेका छन् । असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पुरा जीवन दुखेको छ । अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नबौ तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ ।’

निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म निर्देशन गरेका छन् । पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्देशन गरेका छैनन् ।

प्रतिक्रिया