आकाशियो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ जेठ : मंगलबार सुनको मूल्य तोलाको ९३ हजार नाघेको छ । सोमबार कायम भएको मूल्यमा ६ सय रुपैयाँले बढेर मंगलबार सुनको मूल्य तोलाको ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९२ हजार आठ सय रुपैयाँ थियो ।

यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ । यसैगरी चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । महासंघका अनुसार मंगलबार चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।

त्यस्तै २०७७ सालको साउन महिनामा सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको थियो । सामान्यतया कुनै वस्तुको माग नहुँदा त्यसको मूल्य घट्छ । तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि मूल्य बढ्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारको असरका कारण नेपाली बजारमा माग र कारोबार नभए पनि मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुन किनेर थुपार्दा त्यहाँ माग बढ्ने र यही कारण मूल्य बढ्ने गरेको शाक्यले बताए ।

विश्वमा सङ्कटका बेला अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएकाले लगानीकर्ताले सुनमा लगानी गर्दछन्, अहिलेसम्मको अभ्यासले यही देखाएको छ । 

प्रतिक्रिया