सांसद बस्नेतद्वारा सूर्यविनायक नगरपालिकामा एम्बुलेन्स हस्तान्तरण

admin

भक्तपुर, ४ जेठ : नेकपा एमालेका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका तथा मानविय आस्था नेपाललाई संयुक्त रुपमा सञ्चालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको दोस्रो लहर तिव्ररुपमा फैलिएसँगै बिरामीहरुले एम्बुलेन्स नपाएको गुनासो बढेपछि पूर्वमन्त्री तथा सांसद बस्नेतको विशेष पहलमा भारत सरकारको सहयोगमा एम्बुलेन्स ल्याइएको हो ।

उक्त एम्बुलेन्स नगरपालिका तथा मानविय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । सांसद बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले सूर्यविनायक नगर अस्पतालको प्राङ्गणमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भक्तपुरमा एम्बुलेन्स लागि ९८०८५२९३८३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

कार्यक्रममा सांसद बस्नेतले अब बिरामीहरुले एम्बुलेन्स नपाउने समस्या कम हुने आंकलन गरे । उनले बिरामीले उपचार तथा सुविधा अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसअवस्थामा केही समस्या भए सम्बन्धित निकायमा सम्पर्क गर्न र त्यसको समाधानका लागि आफू प्रतिवद्ध रहेको पनि बताए ।

यसैगरी मेयर थापाले नगरका जनताको जीवन रक्षा गर्न आफू खटिरहेको भन्दै उपचारमा कुनै समस्या हुन नदिने बताए । नगर अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको जानकारी गराउँदै वर्तमान समयमा नगरपालिकाले जनतालाई कोरोनाको खोप तथा स्वास्थ्य सुरक्षाको विषयलाई गम्भिरतापूर्वक लिई निःशुल्क कोरोना परिक्षण गरिरहेको बताए ।

प्रतिक्रिया