कोरोनाको उपचार गर्न अस्पताललाई ४ अर्ब ३१ करोड स्वीकृत : अर्थमन्त्री पौडेल

admin

काठमाडौं, ४ जेठ : अर्थमन्त्री बिष्णु पौडेलको तेश्रो पटक अर्थमन्त्रालयको नेतृत्व सम्हालेसँगै धमाधम भावना अनुसारका निर्णय गर्न थालेका छन् । कारोना भाइरस (कोभिड-१९) को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि पौडेल नेतृत्वको अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

(अस्ति) आइतबार अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । यस्तै मन्त्री पौडेलले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन निर्देशन पनि दिएका छन् ।

सोमबार भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीको विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

पौडेलले कोरोनाको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिए । कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँच पास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

यस्तै राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँच पासका लागि छिमेकी देशको भन्सार कार्यालयसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया