स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड

admin

काठमाडाैं, ५ जेष्ठ : सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन तथा मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको छ ।

सो मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भन्नुभयो, “साबिक स्थानीय निकायका कर्मचारीलाई पनि एक तह वृद्धि गर्ने गरी नयाँ मापदण्ड ल्याउन लागिएको हो ।” यो नयाँ नीतिले पुरानो स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीमा थप उत्साह र जिम्मेवारी बढेर सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

साबिकका स्थानीय निकाय (गाविस, नगरपालिका र जिविस)का कर्मचारीको एक तह वृद्धि गर्दा कर्मचारी समायोजन ऐनलाई आधार मानिने प्रस्तावित मापदण्डमा उल्लेख गरिएको छ । सो ऐनबमोजिम पाँच वर्ष सेवा अवधि पूरा गरेका नायब सुब्बा माथिल्लो तहमा जाने शैक्षिक योग्यता भएमा अधिकृत स्तर छैठौँ तह बन्न सक्छन् ।

पाँच वर्षभन्दा कम सेवा अवधि भएका र माथिल्लो तहमा जानका लागि शैक्षिक योग्यता नभएका कर्मचारीलाई दुई ग्रेडसम्म थप गरी सोही पदमा राख्ने गरी मापदण्डमा प्रस्ताव गरिएको छ । अन्य तहका कर्मचारीको हकमा पनि एक तह बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएको र न्यूनतम शैक्षिक योग्यता हुनुपर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया