‘रामबहादुर थापा बादल’ कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता हुन्, माधव पक्षले भोट नदिने कल्पना पनि गरिएको छैन : प्रधानमन्त्री

admin

काठमाडौं, ५ जेठ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई आफ्नै पार्टीका व्यक्तिले भोट नदिने कुरा कल्पनासमेत नगरिएको बताएका छन् । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि बिहीबार चुनाव हुँदैछ । चुनावमा प्रदेश सभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षले मत दिन पाउनेछन् ।

बुधबार पार्टीका नेता तथा कार्यकर्ताको नाममा अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारको रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताएका छन् ।

एमालेकै माधव नेपाल पक्षले रामबहादुर थापालाई भोट दिन नसकिने र आफूहरूको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार बनेको भन्दै देवकोटालाई नै भोट दिने जनाएको छ । तर अध्यक्ष ओलीले पार्टीभित्र देखापरेका समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको भन्दै पार्टीका आधिकारिक व्यक्तिलाई समर्थन गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा नेपाली कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेता भएको र उनको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतालाई थप बल पुर्‍याउने ओलीको दाबी छ । एमाले र माओवादीबीचको एकता केही अवसरवादीका कारण असफल भएको अवस्थामा नेकपाको विरासत एमालेले बोक्ने भएकाले पनि रामबहादुर थापालाई जिताउनुपर्ने ओलीले बताएका छन् ।

प्रतिक्रिया