ताउ-ते चक्रवातको असर, आज र भोलि सचेत रहन विभागद्वारा अनुरोध

admin

काठमाडौं, ५ जेठ : जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको ‘ताउ-तेु’ चक्रवातका कारण बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना-पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । पूर्वी-मध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ-ते सोमबार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् ।

यस्तै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेकाले यो समयमा पर्वतारोहण नगर्न रर नगराउन पनि आग्रह गरेको छ । केही ठाउँमा बाक्लो हिमपातसमेत हुन सक्ने भएकाले आरोहणमा गएकाहरूलाई सुरक्षित रहन विभागको आग्रह छ । यसअघि बुधबार र बिहीबार सगरमाथा आरोहणका लागि मौसम अनुकूल अर्थात् ‘समिट विन्डो’ देखिएकोले त्यसका लागि झण्डै दुई सय जना आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसकेका थिए ।

उनीहरूलाई त्यहीँ बस्न वा सम्भव भएमा आधार शिविरमा झर्न भनिएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । पहिलो र दोस्रो शिविरलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । दोस्रो शिविरबाट आधार शिविर फर्कन भने कठिन आइसफल भएकाले जोखिमयुक्त हुन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएकामा आधाभन्दा धेरै अनुकूल मौसमको पर्खाइमा छन् ।

प्रतिक्रिया