आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझाको ‘नो भोट’

admin

काठमाडाैं, ६ जेष्ठ : राष्ट्रिय सभाका लागि आज भइरहेको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएका हुन् ।

‘गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि हुँदै गरेको निर्वाचनमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र गरी तीन जना उम्मेदवारहरू मैदानमा छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘प्राविधिक रूपमा एक जनाको ‘स्वतन्त्र’ उम्मेदवारी रहे पनि सत्तारुढ नेकपा एमालेकै एउटा खेमाको तर्फबाट निजको उम्मेदवारी आएको प्रस्टै देखिएको छ ।’

यस निर्वाचनमा विवेकशील साझा पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन । विज्ञप्तीमा थप भनिएको छ, ‘यस परिप्रेक्ष्यमा चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ ।’

विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको स्मरण गराउँदै उक्त पार्टीले सात वर्षभन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहेको आरोप लगाएको छ।हाल विवेकशील साझाका बागमती प्रदेश सभामा तीन सांसद छन्, जसले मतदान गर्न पाउँछन् ।

प्रतिक्रिया