आइसोलेसन बेडबाटै अधिवक्ता ‘स्वागत नेपाल’को मार्मिक सन्देश

admin
  • स्वागत नेपाल
    अधिवक्ता, संयोजक स्वातन्त्र राष्ट्रिय अभियान नेपाल

काठमाडौं, ६ जेठ : इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेले मान्छे मरिसकेपछि सरकारले नयाँ भेरियन्ट पत्ता लागेको भनेर मान्छेलाई मूर्ख बनाएको टिप्पणी सञ्चार माध्यममा भर्खरै गर्नु भएको छ । सरकार मान्छे मरिसकेपछि मात्रै सबै थोक गर्छ । वडादेखि केन्द्रसम्मका सरकार सरकारै बचाउन मात्र सबैथोक गर्छन् । हरेक दिन यति संक्रमित थपिए भन्छ सरकार । परीक्षण गरिएकाहरु मध्ये त कतिपय गम्भीर अवस्थामा एक्कासी पुगिसकेका पनि छन् ।

रिपोर्ट आउनै एक हप्ता लाग्ने गरेको गुनासो पनि सार्वजनिक भइरहेकै छन् । एकातिर संक्रमित पुष्टि हुने बित्तिकै केही भइहाल्ने होइन, त्यसपछि पनि थप बचाउ र बिरामी नै परेपछि उपचारका अन्य उपायहरु छन् तर संक्रमित हो कि होइन भन्ने नै पुष्टि नभई प्रत्यक्ष औषधि चलाउन वा भनौं उपचार नै गरिहाल्न मिल्दैन । कतिपयका लागि त पुष्टि हुने बित्तिकै आइसोलेसन होइन शय्या, अक्सिजन र उपचार नै चाहिन्छ । अर्थात् संक्रमित भएको पुष्टि हुनेबेलासम्म ढिलो भइसकेको हुन्छ ।

आज यति यति जना संक्रमित भए भन्ने समाचार तत्कालै हरेक दिन दिन्छ सरकारले तर त्यसको खबरसम्म पनि कतिपय संक्रमितले पाएका हुँदैनन् । आज बताइएकोमा आजै वा हिजोअस्ति नै मैले गरेको मेरो स्वाब परीक्षणको पनि संख्या आज सरकारले सार्वजनिक गरेको संख्यामा जोडिएको हो कि होइन भन्ने कुरा त्यही समाचार सुनिरहने व्यक्तिलाई थाहा हुन्न । सरकारले नमूना लिन्छ । थपिएको संख्या बताइदिन्छ सञ्चारमाध्यममा । उसको काम सकिन्छ । स्वाब दिएर आएको व्यक्ति आफैँले गएर, फोन गरेर वा आफन्तलाई पठाएर रिपोर्ट बुझ्न पर्ने अवस्था अझै पनि छ । अनि संक्रमित भएको रहेछ भने संन्त्रस्त बनेर घरैमा बस्छ ।

सर्सर्ती हेर्दा सामान्य शारीरिक अवस्था छ भने पनि कतिपयको मनावैज्ञानिक अवस्था काल पर्खिएर बसे सरह हुन्छ किनकि संक्रमित भएको भन्ने मात्र थाहा पाउँछ जसोतसो तर त्यसपछि केके गर्ने नगर्ने, तत्कालै त्यही साँझदेखि उसलाई भनिदिने पनि कोही हुन्न । कुनै निकाय छैन । अझ लक्षण सहितको असर नै देखिन थालेको वा गम्भीर भए त झनै खतरनाक स्थिति हुन्छ । संक्रमित रहेछु भन्ने पुष्टि भएको खबर पायो भने उसले अब कुनै परामर्श लिने, दैनिक परेको समस्या समस्या समाधान गर्न वा तत्काल आइ परेको कठिन अवस्थासँग सामना गर्न कसैलाई सोध्ने ठाउँ छैन । स्थानीय सरकारहरु चुपचाप छन् । प्रादेशिक र केन्द्रीय त झन् अपहरण, भ्रष्टाचार, सरकार ढलाउने र बनाउनेमै व्यस्त छन् ।

एउटा संक्रमित बनेर घरैमा आइसोलेसनमा बसेको व्यक्ति सामान्य घरमा भएको, आफैँले उब्जाएको, फलाएर भण्डारण गरिएको खानेकुरा खाएर बाँच्न सक्ने अवस्था छ भने त त्यति धेरै समस्या हुन्न तर दैनिक रोजगारी गरेर खानु पर्ने परिवारमा भने धेरै ठूलो समस्या छ । त्यो बाहेक पनि सबै वर्गका परिवारमा समेत ठूलो मनोवैज्ञानिक समस्या छ । ती सबै समस्यासँग टोलाएर आइसोलेसन भन्दै जीवनबाट भाग्ने समाधानको बाटो कतिले खोजिरहेका होलान् । त्यस्ता घटना पनि सार्वजनिक भएकै हुन् । राज्यले यस्ता विषयमा सोच्न सबैभन्दा स्थानीय निकायबाट सक्नु पर्ने हो ।

यस वीचमा म आफैँ पनि आइसोलेसनमा बसिरहेको छु । दैनिक शारीरिक अभ्यास, योग, भजन कीर्तन, पाठ, र आफ्ना प्रकाशित हुन बाँकी रहेका पुस्तकहरुको लेखनमा समय बिताउँछु र मलाई त्यति धेरै समस्या छैन । तर पनि संक्रमित पुष्टि भएको दिनदेखि कति घरमै बसेका मान्छेहरु घरमै मरे कि भन्ने राज्यलाई थाहा समेत छैन । तिनीहरुलाई मृत्युको मुखमा पुग्न नदिनको लागि के के उपाय अपनाउन सकिन्छ ? मनोवैज्ञानिक पनि परामर्शहरु फोनबाटै पनि दिन सकिन्छ कि भन्नेमा समेत कुनै सरकारी निकायको चासो छैन । यसै पनि यस्तो बेलामा अरुबेला भन्दा बढी खानेकुराहरु जरुरी हुन्छ तर अरु सामान्य अवस्थामा समेत प्रशस्त खान नपुग्ने परिवारका लागि के होला ? अक्सिजन नपुगेकाहरुका लागि पहिलो सहयोग सबैतिरबाट जरुरी हुन्छ तर अलिकति मात्रै ध्यान दिने हो भने हो भने अक्सिजन चाहिने अवस्थासम्म पुग्नै नपर्ने उनीहरुलाई कसरी बनाउन सकिन्छ भन्नेतर्फ कुनै ध्यान छैन ।

अध्ययन र पूर्वविश्लेषणका आधारमा अब जेठ मध्यदेखि असार अन्त्यसम्म अझ धेरै अक्सिजन आवश्यक पर्ने विरामीको संख्या थपिने पनि सार्वजनिक भइरहेका छन् । फेरि पनि सरकारले स्वाब परीक्षण गरेर संक्रमितहरुको बारेमा चुपचाप बसेको कारण मृत्युको संख्या बढिरहेको छ । यो बीचमा सामाजिक सञ्जालमा आइसोलेसन समूह भन्ने पेज नै बनाएर कसकसका के कस्ता अनुभवहरु रहेछन् भनेर मैले छलफल पनि गरेँ । शुरुमै डा. पाण्डेको प्रसंग जोड्नुको अर्थतर्फ पनि मोडिन चाहन्छु । उहाँले मान्छे मरिसकेपछि नयाँ भेरियन्ट भनेर सरकारले नागरिकलाई मुर्ख बनायो भनेझै फेरि अरु अरु मुर्ख बनाउने शृंखलाहरु थपिने छन् । मैले आइसोलेसन समूहबाट प्राप्त गरेको प्रतिक्रिया अनुसार नयाँ नयाँ प्रकारका विशेषताहरु यो पटक देखिएका छन् । कतिपयले शरीर सुनिएर आउने, शरीर चिलाउने, ठेउलाहरु र खटिराहरु देखा पर्ने, हात खुट्टा निदाउने लगायतका लक्षणहरु बताएका छन् ।

व्यक्तिगत रुपमा पहुँच हुनेहरुले चिकित्सकहरुसँग सल्लाह लिँदा नयाँ भेरियन्ट भएको हुनाले यो कोभिड संक्रमणकै लक्षण हो वा त्यसका अतिरिक्त केही हो भन्ने बताउन नसकेको जवाफ पाएको भनेका छन् । व्यक्तिगत रुपमा मेरो पनि संक्रमण भएको थाहा भएको तेस्रो दिनदेखि शरीर चिलाउने, बिस्तारै ठूलो आकारको घमौराजस्तो देखा पर्ने र ठेउलाको रुप लिने लक्षण पनि देखिएको छ । चिकित्सकहरुसँग सल्लाह गर्दा सबैजसोले धेरै प्रश्नहरु गरिसकेपछि नयाँ भेरियन्टको लक्षण हुन पनि सक्ने भएकोले यसै भन्न सकिन्न भन्ने जवाफ दिनुभयो । यसका लागि हामीले समूहमा जूममा समेत चिकित्सकहरुसँग केही चरण छलफल गर्यौं ।

यस्ता विषयमा पनि सरकारले विशेष रुपमा फोन वा ग्रुपहरुमा मात्रै पनि प्रतिक्रिया लिएर परामर्श पनि दिँदै अध्ययन अनुसन्धानलाई अघि बढाउने हो भने केही निष्कर्शमा पुग्न सकिने थियो । समग्रमा संक्रमितको संख्या र राज्यअकर्मण्यताबाट बढेको मृत्युको संख्या मात्र सुनाएर राज्यले के जित्न खोजेको हो सार्वभौमसत्तासम्पन्न भनिएका विपन्न जनतासँग ? संक्रमितको संख्या सञ्चार माध्यममा बताउने मात्र होइन संक्रमित पत्ता लाग्ने बित्तिकै मृत्युको मुखसम्म पुग्न नदिन पाइला चालिहाल्नु जरुरी छ । र, सरकारको इच्छाशक्ति छ भने यो पूर्णतया सम्भव छ । तर ध्यान केवल पटक पटक पूरा नहुने सपथ लिनमा मात्रै छ त कसरी हुन्छ ?

आइसोलेसनमा बसिरहनु हुने, अस्पतालमा हुनुहुने र संक्रमितको सेवामा लागिरहनु हुने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा आम नागरिकहरुमा आफैं आफ्नो सुरक्षा गर्न निवेदन गर्दछु किनकि हालसम्म हामीलाई राज्यले सुरक्षा दिएर होइन कसैले नमारिदिएर मात्रै बाँचिरहेका छौं । राज्यले स्वास्थ्य सेवा चाँजोपाँजो मिलाइदिएर होइन रोग नलागिदिएर मात्र हामी बाँचेका हौं । अलिकति अस्वस्थ्य भएपछि त राज्यअकर्मण्यताकै कारण मरिन्छ । त्यसैले आफू आफ्नो सुरक्षा गरौं । सुरक्षाका सबै उपायहरु अब त थाहा छ नि ? ती उपयाहरु अपनाऔं । मनोबल उच्च राखौं । आजलाई मात्र होइन सधैंलाई खानपान सुधारौं । आजलाई मात्र सधैंलाई देशभरका शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारीकरण गरौं । यो खतरा मात्र होइन मौका पनि हो । मान्छे सधैं बाँचिरहिन्न, सधैं त केही पनि रहँदैन । सृष्टिकर्ता ब्रह्माको पनि कल्प पूरा हुन्छ । त्यसैले आउने पुस्ताका बारेमा सोचौं आउने चुनावका बारेमा मात्र होइन ।

समाजवाद उन्मुख संविधान भएको देशमा नेता र पार्टीले अस्पताल र कलेजहरु खोल्दैनन् । त्यसैले यही बेला ती सबैलाई जनताको बनाऔं जनताबाट चलाऔं । दूरदर्शी बाटो शुरु गरौं । हामी मरे पनि नयाँ युग शुरु गरेर मरौं । तर त्यसका लागि पहिला बाँचौं केही गर्न बाँचौं, फेरि अर्को दिन मर्न, मर्ने दिन सार्न मात्र नबाँचौं । अब कोरोनाबाट बाँचे पनि के को लागि बाँच्ने ? त्यसको जवाफ सहित बाँचौं । त्यो जवाफ हो उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको लागि बाँचौं । राइट टु रिजेक्ट, रिकल सहितको सांसदले सरकार ढाल्न र बनाउन नपाउने व्यवस्था भएको, सरकारले संसद र अदालत समेत चलाउन नसक्ने नयाँ युग अर्थात् उन्नत लोकतन्त्र ल्याउनका लागि बाँचौं । नेपाली अनुहारका विदेशीहरुबाट शासित हुन नपर्ने दिन ल्याउनका लागि बाँचौं ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू